रसीद आलम,पर्सा,२७ माघ।
जिल्ला प्रहरी कार्यालय पर्साका मातहत ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको कमान्डमा खटिएका प्रहरी टोलीले लागु औषध सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ स्थित निचुटा गाउँ बस्ने वर्ष २० को पुलेमन मुखिया रहेको प्रहरीले जनाएको छ।
माघ २५ गते पुलेमन मुखियाको घरमा खैरो हिरोइन जस्तो देखिने लागु औषधको बिक्री वितरण भैरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको कमान्डमा खटिएका प्रहरी टोलीले खानतलासी गर्दा निज पुलेमन मुखियाको घरबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मि.ग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मि.ग्राम र सेतो पदार्थ १ ग्राम ९४ मि.ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
मुखियाको घरबाट डिजिटल तराजु १ थान र नगद रू.२९ हजार सत्तरी रुपैया पनि बरामद भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।
निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताए ।
