सर्लाही नवलपुरमा बस र ट्रक ठोक्किँदा कैयौं यात्रु घाइते

समाचार

सर्लाही, ८ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन । तर, घाइतेको एक्किन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर  हरिबोल केसीले घाइतेहरू विभिन्न अस्पतालमा उपचारका लागि पुगेकाले संख्या एक्किन हुन बाँकी रहेको बताए। ‘अस्पतालहरुमा प्रहरी पुगेर घाइतेको विवरण लिइरहेकाले संख्या खुल्न बाँकी नै छ,’ इन्स्पेक्टर केसीले भने, ‘ट्रकका चालकबाहेक अन्य घाइतेको अवस्था सामान्य नै छ।’

इन्सपेक्टर केसीका अनुसार ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने टंकबहादुर गोलेको अवस्था गम्भीर छ। गोलेलाई एलएस न्यूरो अस्पताल कलैया रेफर गरिएको इन्स्पेक्टर केसीले बताए।

उनले सुरुमा घाइतेहरूको उद्धार गरिएको र अहिले सबैतिर पुगेर विवरण लिने काम भइरहेको जानकारी दिए।

प्रहरीका अनुसार आज साँझ साँढे ५ बजेतिर नवलपुरस्थित चोकमा पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र जनकपुरबाट वीरगन्जका लागि छुटेको बा ४ ख ३२४ नम्वरको बस आपसमा ठोक्किँएर दुर्घटनामा परेको स्थानीयले बताए।

दुर्घटनामा ट्रक र बस दुवैको अगाडिपट्टीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *