रौतहटको वनमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

समाचार

 

रौतहट, २० चैत । रौतहटस्थित वन क्षेत्रभित्र भिषण आगलागी भएको छ। आगो नियन्त्रणको प्रयास जारी रहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ।

डिवीजन वन कार्यालय रौतहटको  क्षेत्रअन्तर्गत घाटगद्दी गरी राखिएको काठमा भिषण आगलागी भएको हो। आगलागीबाट लाखौंको काठ दाउरा जलेर नष्ट भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा सोमबार दिउँसोदेखि सुरु भएको भिषण आगलागी  नियन्त्रण गर्ने प्रयास भैइरहेको छ।

गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन्।

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निमार्णको लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको प्रमुख मिश्रले जानकारी दिएका छन्। सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागी बारे सुचना आएको सेक्टर वन कार्यालय चोचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताएका छन्। खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट पाँच वटा बारुण यन्त्र दमकलसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।

आगलागीबाट काठ दाउरा जलेर भएको क्षति बारे पूर्ण एकिन नभए पनि १५/२० लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको उनले जानकारी दिएका छन्।

दिउँसोदेखि नै हुरीको जस्तै चलिरहेको तीव्र बेगको हावाका कारण आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ।

तीव्रगतिको हावा चलेकै कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा दैनिक जसो आगलागीको घटना भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *