बिजुली दुर्घटनाबाट २७ जनाको ज्यान गुम्यो, रौतहट प्रहरीद्वारा सावधानी अपनाउन सर्वसाधारणलाई अपिल

समाचार

रौतहट, साउन ९ ।
रौतहट जिल्लामा करेन्ट लागेर मृत्यु हुने घटनामा लगातार वृद्धि भइरहेका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, रौतहटले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा करेन्ट लागेर २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्ष २०८२/८३को हालसम्मको अवधिमा मात्र ४ जनाको ज्यान गइसकेको छ ।

यस्ता घटनाबाट बच्नका लागि सावधानी अपनाउन अत्यन्त आवश्यक भएको भन्दै प्रहरीले निम्न सावधानीहरू पालना गर्न अनुरोध गरेको छः

  • खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीको काम नगर्नुहोस् ।
  • मर्मत कार्य सधैं दक्ष विद्युत प्राविधिकबाट मात्र गराउनुहोस् ।
  • कमसल, पुराना वा जथाभावी जोडजाड गरिएको तार प्रयोग नगर्नुहोस् ।
  • सम्भव भएसम्म अन्डरग्राउन्ड वायरिङ्गको व्यवस्था गर्नुहोस् ।
  • विद्युत बोर्ड साना बालबालिकाले नछुने गरी सुरक्षित स्थानमा राख्नुहोस् ।
  • जथाभावी तार झुण्ड्याउने वा खोलामा पार्ने कार्य नगर्नुहोस् ।
  • खेतमा सिँचाइका लागि सिँचाइ मिटरको प्रयोग गरी मात्र मोटर चलाउनुहोस् ।
  • रातिको समयमा वा अँध्यारोमा बिजुली मर्मत, तार चलाउने वा खेतमा पानी पटाउने कार्य नगर्नुहोस् ।
  • खेतमा सिँचाइ गर्दा अनिवार्य रूपमा एक जना व्यक्ति उपस्थित गराउनुहोस् ।
  • विद्युत पोलबाट हुकिङ गरी चोरी गर्ने कार्य नगर्नुहोस् ।
  • हातले छुन सकिने वा खुट्टा लाग्न सक्ने स्थानमा तार, स्विच वा बोर्ड नराख्नुहोस् ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले सबै नागरिकलाई आफ्नै सुरक्षाको लागि यी सावधानीहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *