रसीद आलम
पर्सा, ९ साउन
सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेशका प्रमुख डिआजी कृष्ण ढकालको नेतृत्वमा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। अभियान अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. १० गण, हे.क्वा. सर्लाहीले सर्लाही जिल्लामा ठूलो परिमाणमा भन्सार छलिका अवैध सामान बरामद गर्न सफल भएको छ।
साउन ७ गते, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित तुलसी पशुपालन फर्ममा संयुक्त रुपमा सशस्त्र प्रहरी गण नं. १० सर्लाही र भन्सार कार्यालय मलंगवाबाट खटिएको टोलीले छापा मारेको थियो। छापाका क्रममा Platinum 7 Premium Blend ब्रान्डका चुरोटसहित ठूलो मात्रामा लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बरामद गरिएका अवैध सामग्रीहरूको कुल बजार मूल्य रु. १ करोड ५८ लाख ५९ हजार रहेको अनुमान गरिएको छ। ती सबै सामग्रीहरू आवश्यक प्रक्रिया पुर्याएर सम्बन्धित भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।
सशस्त्र प्रहरीका अनुसार सो फर्ममा विदेशी चुरोट तथा लत्ताकपडाको भण्डारण गरिई अवैध रुपमा ओसारपसार गर्ने तयारी भइरहेको सूचना आधारमा छापा मारिएको हो।
मधेस प्रदेशमा तस्करीका गतिविधिहरू तीव्र रूपमा बढिरहेका सन्दर्भमा सशस्त्र प्रहरी बलले नियन्त्रणका लागि व्यापक निगरानी तथा गस्ती बढाएको छ। प्रदेश प्रमुख डिआजी ढकालको निर्देशनमा सञ्चालन गरिएको अभियानले पछिल्ला दिनहरूमा उल्लेखनीय सफलता हात पारिरहेको छ।
सशस्त्र प्रहरी बलले तस्करीविरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने र अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने दृढता व्यक्त गरेको छ। साथै, उनले सीमावर्ती क्षेत्रका बासिन्दाहरुलाई पनि तस्करीविरुद्धको सहकार्य र सूचना सहयोगको अपिल गरेका छन्।
यस किसिमको अभियानले मुलुकको राजस्व सुरक्षासँगै सुरक्षा व्यवस्थामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
