रसीद आलम,बारा,१२ बैशाख।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र मातहतका युनिट समेतबाट खटिएका प्रहरी टोलिहरूले विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको ३० लाख ९८ हजार ९ सय ४३ रूपैया बराबरको समान सहित ट्रक र पिकअप गाडि नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
बारा प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका टोलीले प्रसौनी गाँउपालिका वडा नं.२ प्रसौनी स्थितमा प्रसौनीबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको ट्रकमा रु.६ लाख बराबरको लोड गरेको काजु, बेल्ट, पर्स, कागज र अन्य समानहरू पक्राउ गरिएको छ।
ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उ.म.न.पा. वडा नं. १ सुर्य नेपाल स्थित वीरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको ना.४ क १९२८ नम्बरको बसमा लोड गरेको १८ हजारको मल १२ बोरा बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय जीतपुरले जीतपुरसिमरा उ.म.न.पा. वडा नं.७ जीतपुर स्थित वीरगंजबाट पथलैया तर्फ जाँदै गरेको बागमति प्रदेश-०१-००६ ख ३१३९ नम्बरको बसमा लोड गरेको यूरिया मल र चिनी ११ हजार ५ सय रूपैया बराबरको बिल भरपाई नभएको तथा स्रोत खुलाउन नसकेकोले पक्राउ गरेको जनाएको छ।
प्रहरी चौकी मुसहर्वाले बिश्रामपुर गाँउपालिका वडा नं. ३ मुसहर्वा स्थित भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको रु.४० हजार बराबरको पर्दा ७२ वटा र झुल ११ थान नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उ.म.न.पा. वडा नं.१ पथलैया चोक स्थित वीरगंजबाट सिरहा तर्फ जाँदै गरेको ना ४ ख २७४१ नम्बरको ट्रकमा लोड गरेको रु.२२ लाख १५ हजार ८ सय २३ बराबरको बिभिन्न खुद्रा समानसहित ट्रकलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
वीरगंजबाट सर्लाही तर्फ जादै गरेको ना ३ च २०६१ नम्बरको पिकअप गाडिमा लोड गरेको ३ लाख १३ हजार ६ सय २० रुपैयाँ बराबरको बिभिन्न खुद्रा समानहरुको बिल भरपाई नभएकोले नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जनाए।
