बाढी र पहिरोले जीवन अस्तब्यस्त, नेपाली सुरक्षाकर्मीद्वारा उद्दार कार्यमा तीव्रता ।

समाचार

काठमाडौ ,२३ असार।

भारी वर्षाको कारण नेपालको राजधानी लगायत विभिन्न ठाउँमा बाढी र पहिरोले जीवन जोखिममा परेको छ।बाढी र पहिरोबाट हुन सक्ने मानव क्षतिलाई बचाउन स्थानीय सुरक्षाकर्मीले उद्दार कार्यमा लागेका छन् ।

आम नागरिकको जन धन जिउको सुरक्षामा सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा नेपाली सेना खटिएका छन् ।

दाङको सतवरियामा डुवानमा परेकाहरुको सकुशल उद्वार:

अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ ।

नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो । सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका थिए ।

पहिरोको जोखिममा परेको घरबाट उद्वार:

तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित एक घर पहिरोको जोखिममा परेपछि मानिस सामान अन्यत्र सारिएको छ ।

स्थानीय भुमाया अछामीको घर मुनिबाट पहिरो खसेर घरनै जोखिममा परेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २३  मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो । पहिरोमा केही चौपाया पुरिएको आशंका गरिएको छ ।

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो:

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ ।

नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ ।

प्रहरीले लगातारको बर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

काभ्रेमा अबरुद्ध सडक खुल्यो:

अबिरल वर्षा पछिको बाढिका कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरिले खुलाएको छ ।

त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अबरुद्ध भएको पछि सशस्त्र प्रहरी बल नेपाल  नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको कमाण्डमा खटिएको टोलीले अबरुद्ध स्थानहरुको पहिरो पन्छाएको हो  ।

अहिले सो सडकमा यातायात सुचारु भएको छ ।

निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त:

निरन्तरको वर्षातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ ।

यस्तै कुपण्डोल पुल मुनीको करिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ ।

शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालोपुलको तल्लो बाटो र च्यासल क्षेत्रमा  रहेका करिडोरमा पनि विष्णुमती नदीको वहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आशिंक प्रभाव परेको छ ।

यस्तै धापाखेल स्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आशिंक प्रभाव परेको छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न करिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई  ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यस्तै वर्षातले भिजेको सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने संभावना रहेकाले संयमित भएर सिमित गतिमा सवारी साधन गुडाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *