रसीद आलम,बिरगंज ,४ साउन ।
बिरगंज महानगरपालिका-२ स्थित छपकैयामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले छापामारी गरि ठुलो मात्रामा भन्सार छलीका कपडा बरामद गरेको छ।
विशेष सुचनाको आधारमा पर्साको बिरगंज -२ छपकैया गाँउमा रहेका बिभिन्न घरहरुमा खोजतलाश गर्दा भारतबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याई भण्डारण गरी राखेको रु.१३ लाख १० हजार ३ सय बराबरको कुर्था सुरुवाल, साडि लगायत थानको अन्य कपडाहरु बरामद भएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचनाअधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
डिएसपी देबेन्द्र बहादुर सिंहका अनुसार तस्करहरुले तस्करीका विभिन्न कपडा ठुलो मात्रामा भण्डारण गरि राखेको खबर प्राप्त हुन साथ साउन १ गते सशस्त्र प्रहरी नायव उपरिक्षक बिश्वराज योन्जन,सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालको कमाण्डमा खटिएको सशस्त्र प्रहरी बल नेपालको ठुलो टोलि तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरिक्षक बिजय चौहानको कमाण्डमा खटिएको प्रहरी टोलि तथा बिरगंज भन्सार कार्यालय पर्साबाट खटिएका ना.सु. बिष्णु प्रसाद चौधरी समेतको सन्युक्त टोलिले छापामारी गरि अबैध कपडा बरामद गरेको हो।
उक्त सामानहरु साउन ३ गते आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी सिंहले बताएका छन् ।
भारतबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याई भण्डारण गर्न सक्ने सम्भावित स्थान तथा सवारी साधनहरुमा यस किसिमको संयुक्त छापामारी आँउदा दिनहरुमा समेत निरन्तर जारी रहने सशस्त्र प्रहरी पर्साका एसपी राधेश्याम धिमालले बताए।
