काठमाडौं,१८ कार्तिक ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान बेलायत प्रस्थान गर्नुभएको छ। इन्टरपोल महासचिवालयद्वारा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन उहाँ बेलायत जानुभएको हो।
प्रहरी महानिरीक्षक कुँवरका साथै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामना सहित बिदाइ गर्नुभयो।
इन्टरपोलका १९६ सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (WHO) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति, इन्टरपोलको विश्लेषणात्मक क्षमता सुदृढीकरण, बाल यौन दुर्व्यवहार सामग्रीमा नियन्त्रण, digital evidence मा कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधन लगायत विविध नीतिगत विषयमा छलफल तथा मतदानद्वारा निर्णय गरिनेछ। महासभामा इन्टरपोलको आगामी कार्यक्रम योजना, बजेट प्रस्ताव, भवन विस्तार लगायत कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचनसमेत हुनेछ।
महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलले मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कार्यको जिम्मेवारी सम्हाल्नुहुनेछ।
