काठमाडौं,३० कार्तिक ।
डिजिटल सवारी चालक अनुमतिपत्रको प्रभावकारी नियमनका लागि बागमती प्रदेश सरकारले ट्राफिक प्रहरीलाई ४०८ थान स्मार्ट फोन हस्तान्तरण गरेको छ।
शुक्रबार ललितपुरको कनिबहालस्थित होटल गुडविलमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो।
मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनहरूले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले नागरिक गुनासोलाई सम्बोधन गर्दै ट्राफिक प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक समन्वयका साथ अगाडि बढ्ने बताउनुभयो।
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले समापन मन्तव्य राख्नुभएको थियो। त्यस्तै, प्रदेश सभा सदस्य मधुसुदन पौडेल, पूर्व मन्त्री रामेश्वर श्रेष्ठ, र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउन नयाँ स्रोतसाधनको उपयोगले ठूलो योगदान दिने बताउँदै, प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य, पूर्व मन्त्रीहरू, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका पदाधिकारीहरू, उपत्यका प्रहरी कार्यालयका वरिष्ठ अधिकृतहरू र अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
