६३ लाख ६८ हजार बराबरको अवैध सामान पथलैया अनुसन्धान कार्यालयमा बुझाइयो :बारा प्रहरी

बिदेश राजनीति समाचार

बारा,११ मंसिर ।

बारा जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा बिल भरपाईभन्दा बढी र स्रोत नखुलेका ६३ लाख ६८ हजार ५५५ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुर बाराले मंसिर ९ गते राति ११:३० बजे वीरगंजबाट पथलैया जाँदै गरेको म.प्र.०३-००२ ख ०३१४ नम्बरको मिनि ट्रकबाट ४२ लाख ९३ हजार ८७० रुपैयाँ मूल्यका सेम्फु, जिलेट सरफलगायत अन्य समान नियन्त्रणमा लिइयो।

ईलाका प्रहरी कार्यालय अमलेखगंजको कमान्डमा सोही राति ११:४० बजे धनुषाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३७४१ नम्बरको ट्रकबाट बिल नभएका १४ लाख ७९ हजार ७५० रुपैयाँ मूल्यका केराउ, रहरको दाल, र भुटेको चनासहितका सामान नियन्त्रणमा लिइयो।

प्रहरी चौकी पथलैयाले मंसिर १० गते बिहान ०३:२० मा काँकडभिट्टाबाट बुटवल जाँदै गरेको यात्रु बसबाट १ लाख ४४ हजार ९३० रुपैयाँ मूल्यका खुकुरी, काजु र काँचका थाल बरामद गरियो। सोही स्थानमा अर्को चेकजाँचमा सर्लाहीबाट काठमाडौं जाँदै गरेको पिकअप गाडीबाट ४ लाख ५० हजार रुपैयाँ मूल्यका टायर लिक्विड र रबर पनि नियन्त्रणमा लिइयो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *