बारा, १३ मंसिर । जिल्ला बारा, कलैया स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गर्ने घटनाका मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८१ जेठ ३२ गते साँझ ५:१५ बजे बारा आदर्श कोतवाल गाउँपालिका-२, खजुरियाबाट कलैया बजारतर्फ आउँदै गर्दा हरिभुषण कुशवाहामाथि गोली प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न १७ जनाको समूहले योजना बनाएर उक्त अपराध गरेको प्रहरीले जनाएको छ।
यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले विभिन्न ८ जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाइसकेको छ भने केहीलाई धरौटीमा रिहा गरिएको थियो। घटनामा संलग्न सुरेन्द्र प्रसाद कुशवाहा भने नेपाल र भारतका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए।
प्राप्त सूचनाका आधारमा मोरङ जिल्लामा लुकेर बसेको अवस्थामा सुरेन्द्र प्रसाद कुशवाहालाई बारा प्रहरीको विशेष टोलीले मंसिर १२ गते पक्राउ गरेको हो। सुरेन्द्र नेपाली सेनाबाट भगौडा भएको र स्थानीय स्तरमा त्रासदी फैलाउने व्यक्तिका रूपमा पहिचान भएका थिए।
घटनामा प्रयोग भएका दुई थान पेस्तोल, ७ राउन्ड गोली, चार थान मोटरसाइकल, चार थान मोबाइल, दुई थान ल्यापटप र सात थान सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अभियुक्तविरुद्ध ज्यानसम्बन्धी तथा हातहतियार खरखजना मुद्दामा मुद्दा दर्ता गरी प्रारम्भिक सुनुवाइसमेत सम्पन्न भइसकेको छ। थप अनुसन्धान जारी रहेको बारा प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
