दिल्ली ,१८ मंसिर ।
कर्नाटकको हासन जिल्लामा एक कार दुर्घटनामा परेर आईपीएस हर्षवर्धनको निधन भएको छ। २०२३ ब्याचका प्रशिक्षार्थी अफिसर हर्षवर्धन आफ्नो पहिलो पोस्टिङका लागि जाँदै गर्दा किट्टाने नजिकै दुर्घटनामा परेका थिए। गाडीको टायर फुटेपछि गाडी अनियन्त्रित भई सडक छेउको रुख र एउटा घरसँग ठोक्किएको थियो।
गम्भीर चोटपटकका कारण अस्पताल पुर्याइएका हर्षवर्धनको उपचारकै क्रममा निधन भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव भएको थियो। ड्राइभरलाई सामान्य चोटपटक लागेको छ।
२०२३ ब्याचका आईपीएस
हर्षवर्धन बिहारका मूल निवासी थिए तर परिवार अहिले मध्य प्रदेशको सिंगरौलीमा बसोबास गर्दै आएको छ। उनका पिता सिंगरौलीका एसडीएम अभिषेक सिंह हुन्। हर्षवर्धनले इञ्जिनियरिङको अध्ययन पूरा गरेपछि पहिलो प्रयासमै यूपीएससी परीक्षा उत्तीर्ण गरी १५३औं र्याङ्क प्राप्त गरेका थिए।
म्यसुरस्थित प्रहरी प्रशिक्षण केन्द्रबाट चार हप्ता लामो प्रशिक्षण सकेर उनी सहायक प्रहरी अधीक्षकको रूपमा हासन जिल्लामा आफ्नो जिम्मेवारी सम्हाल्न जाँदै थिए। तर यात्रा क्रममा भएको यो दुःखद दुर्घटनाले उनको जीवनको यात्रा असामयिक रूपमा अन्त्य गर्यो।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटना टायर फुटेका कारण भएको पुष्टि भएको छ।
