नवलपरासी (बर्दघाट सुस्ता पूर्व),१८ पुस ।
कुकुरका बच्चासहित एक माउ कुकुरलाई निर्दयतापूर्वक मारेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
घटना नवलपरासी (ब.सु.प) सुस्ता गाउँपालिका-५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु मगरले २०८१ साल पुस १३ गते नारायणी नदी किनार ठाँडीघाटस्थित ५ नं. ठोक्कर नजिक कुकुरहरू मारेको र २८ वर्षीय अमनकुमार चिडी मगरले उक्त घटनाको भिडियो खिची आफ्नो फेसबुक आईडीमा पोष्ट गरेको खुलेको हो।
यो कार्य मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरको उल्लङ्घन भएको देखिएपछि प्रहरीले उनीहरूलाई पुस १७ गते नियन्त्रणमा लिएको छ। जिल्ला अदालत परासीबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पशुपन्छीप्रति क्रूर व्यवहार देखाउने कार्य कानूनी रूपमा दण्डनीय भएकाले यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्नुपर्ने आवाज उठिरहेको छ।
