२५ एसपी एसएसपीमा बढुवा, रिक्त जिल्लामा नयाँ एसपी खटिने तयारी

बिदेश राजनीति समाचार

काठमाडौं ,८ माघ । प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ।

सिफारिसमा परेका एसपीहरूलाई मंगलबार ,वा भोलि बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश आचार्यले जानकारी दिए।

एसएसपीमा बढुवा भएका २५ एसपीहरूमध्ये चार जिल्लाका एसपीहरूले आफ्नो कार्यक्षेत्र छोडिसकेका छन्। ती जिल्लाहरू बारा, सिन्धुपाल्चोक, इलाम र नुवाकोट हुन्। बढुवा सिफारिसमा परेका बाराका महेन्द्र खड्का, इलामका प्रभुप्रसाद ढकाल, सिन्धुपाल्चोकका सन्तोष खड्का र नुवाकोटका शान्तिराज कोइरालाको ठाउँमा चाँडै नयाँ एसपी खटाइने तयारी भइरहेको छ।

त्यसैगरी, पर्सा र रुपन्देहीमा एसपीको कार्यकाल एक वर्ष पुग्न लागेकाले ती जिल्लाहरूमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको छ। विशेषगरी पर्सा आकर्षक जिल्ला मानिँदा त्यहाँ जान एसपी राजन लिम्बू, सन्तोष तामाङ र गोविन्द पुरीबीच सम्भावना बलियो देखिएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्सामा व्यावसायिक र विवादरहित एसपी पठाउन चाहिरहेका छन्। यसका लागि गोविन्द पुरीजस्ता व्यावसायिक छविका अधिकृतलाई प्राथमिकता दिइने बुझिएको छ। पुरीले धनुषामा चर्चित गुण्डा नाइके सन्जय टक्ला पक्राउ गर्ने क्षमतावान् अधिकारीको पहिचान बनाएका छन्।

त्यस्तै, अन्य आकर्षक ठाउँहरूमा काठमाडौं प्रहरी परिसर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रिक्त पदहरूमा पनि एसपीहरूको प्रतिस्पर्धा बढेको छ।

प्रहरी प्रधान कार्यालयले यी रिक्त स्थानहरूमा चाँडै निर्णय लिने तयारी गरिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *