सशस्त्र प्रहरीको छापामारी: बिरगंजका एक गोदामबाट ५० लाखभन्दा बढी भन्सार छलिएका सामग्री बरामद

बिदेश राजनीति समाचार

वीरगञ्ज, माघ १४।

सशस्त्र प्रहरी बल, पर्साले विशेष सूचनाका आधारमा आज बिहान वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियरको गोदाममा छापा मारी ५० लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलिएका कपडा र हार्डवेयरका सामग्री बरामद गरेको सशस्त्रले जनाएको छ।

सशस्त्र प्रहरीका नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले गोदाममा राखिएका विभिन्न किसिमका कपडा र हार्डवेयरका सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ।

उक्त छापामारीमा भारतबाट भन्सार छलिएका सामान गोदाममा लुकाइराखेको विशेष सूचनाका आधारमा ३१ जना सशस्त्र प्रहरी र ४ जना भन्सार कर्मचारीको संयुक्त टोली परिचालित भएको थियो।

सिराहाको माडर गुल्ममा तस्करी नियन्त्रणमा सफलता प्राप्त गरेका डिएसपी सुब्बाले वीरगञ्जमा कार्यभार सम्हालेको एक महिनामै ठूलो परिमाणमा तस्करी रोक्दै ५० लाखभन्दा बढी मूल्यका सामग्री बरामद गर्न सफल भएका हुन्।

बरामद गरिएको सामानको कुल मूल्य ५० लाख ९३ हजार ५३० रुपैयाँ बराबर रहेको बताइएको छ।

श्री दुर्गा रोड क्यारियरको संचालक मदन गुप्ताका अनुसार गोदाम मैले शुरुमा भाडामा लिएको हाल अरुलाई दिएका कारण बरामद मालसामान मेरो तथा मेरो ट्रान्सपोर्टको होईन ,सन्तोष भन्ने ब्यक्तिको हो तर सो गोदामको भाडा सन्तोषसंग लिई घरधनीलाई म आफै बुझाउछु भन्ने प्रतिक्रिया दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *