बिरगंज, १४ माघ।
ब्लु क्रस ल्याबोरेट्रीज प्राइभेट लिमिटेडले ग्रीन ल्यान्ड माध्यमिक विद्यालयमा महिनावारी सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ब्लु क्रस ल्याबोरेट्रीजका प्रतिनिधिहरुले महिनावारीको समयमा हुने पेट दुखाइ, जसलाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ, यसको व्यवस्थापन र औषधिको सही प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए। साथै, बिना चिकित्सकीय सल्लाह औषधि सेवन गर्दा हुन सक्ने नकारात्मक प्रभावबारे चेतावनी दिइएको थियो।
कार्यक्रममा ब्लु क्रसका सिनियर रिजनल म्यानेजर प्रेमकुमार चौरसिया, सिनियर एरिया बिजनेस म्यानेजर कृष्ण प्रसाद महतो, र टेरिटोरी म्यानेजर अनिल चौधरी लगायत विद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका संस्थापक निर्देशक लक्षेश्वर पण्डितले १० वर्षभन्दा माथिका छात्राहरुलाई महिनावारीको समयमा हुने समस्याहरु र सुरक्षित तरिकाले यसको व्यवस्थापनबारे विस्तृत जानकारी गराइएको बताए। साथै, आगामी दिनमा थप प्रभावकारी जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
