पर्सा, १४ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। मानव वेचविखन अनुसन्धान ब्यूरोको अनुसन्धान व्यवस्थापन शाखाबाट सरुवा भई आएका एसपी मिश्रलाई कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंसहित अन्य प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए।
पदभार ग्रहण गर्दै एसपी मिश्रले इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठालाई आफ्नो प्राथमिकता बनाउँदै शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा विशेष ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए।
उनले प्रहरी संगठनभित्र अनुशासन, इमान्दारीता, र जनताप्रतिको उत्तरदायित्वलाई पहिलो स्थानमा राख्दै पर्सा जिल्लामा आफ्नो नेतृत्वलाई प्रभावकारी बनाउने योजना अघि सारेका छन्। एसपी मिश्रले प्रहरी जवानदेखि उच्च अधिकारीसम्म सबैलाई इमान्दार र जनमुखी सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका छन्।
सिनियर तथा जुनियर प्रहरी अधिकारीहरूसँगको परिचयात्मक र स्वागत कार्यक्रममा एसपी मिश्रले आफ्नो कार्यकाललाई सफल बनाउन सबैको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
