बारा ,१६ माघ ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३, मुसहर्वा चोकबाट स्रोत नखुलेको रु. ३,०२,५६५ नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार दिउँसो प्रहरीले भारत ग्राम पञ्चायत जडवा, मोतिहारीका ३८ वर्षीय प्रमोदप्रसाद साहलाई नियन्त्रणमा लिएको हो। प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको ना १४ प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारेको थियो।
साहले सो ३ लाख २ हजार ५ सय ६५ रुपैया आफुले लगाएको जुत्तामा लुकाई लगिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
