प्रकृति लम्साल मृत्यु प्रकरण: ओडिशाबाट बिरगंजनाका हुदै १५३ विद्यार्थी नेपाल फर्किए

समाचार

वीरगंज, ७ फागुन

भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युपछि त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरू स्वदेश फर्कन थालेका छन्।

बुटवलकी २० वर्षीय लम्सालको आइतबार साँझ हत्या भएको आशंकामा विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। तर, प्रदर्शनका क्रममा विश्वविद्यालय प्रशासनले उनीहरूलाई बल प्रयोग गरी दमन गरेको थियो। सोही घटनापछि १२६ छात्र र २७ छात्रासहित १५३ नेपाली विद्यार्थी वीरगंज नाका हुँदै नेपाल फर्किएको स्थानीय प्रशासनले जनाएको छ।

विद्यार्थीहरू पर्सा, बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाका रहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरी प्रशासनसँग समन्वय गरी उनीहरूको विवरण संकलन गरी सुरक्षित रूपमा घर पठाउने व्यवस्था गरेको जनाएको छ।

यसैबीच, विराटनगरस्थित जोगबनी नाका हुँदै पनि ७५ विद्यार्थी नेपाल फर्किएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौं र सिरहाका ३-३, सर्लाही र जनकपुरका २-२ तथा ललितपुर र उदयपुरका १-१ जना विद्यार्थी नेपाल आइपुगेका छन्।थप विद्यार्थीहरू आउने क्रम जारी रहेको पनि प्रशासनले जनाएको छ।

प्रकृति लम्सालले आफूलाई एक विद्यार्थीले मानसिक यातना दिएको भन्दै विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालयले गम्भीर रूपमा नलिएको आरोप विद्यार्थीहरूले लगाएका छन्। आइतबार उनी मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। त्यसक्रममा विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले उनीहरूलाई दमन गरेको आरोप छ।

घटनापछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई कलेज छाड्न आदेश जारी गरेको थियो, जुन पछि फिर्ता लिइएको बताइएको छ। यस विषयमा नेपाल सरकारको तर्फबाट कूटनीतिक पहल भइरहेको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *