पर्सा, २५ फागुन ।
हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व फागु पूर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले शुभकामना व्यक्त गर्दै मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्व उल्लासमय बनाउने क्रममा अनुशासनहीन गतिविधि नगर्न अनुरोध गरेको छ। प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल वा फोहोर पानी नछ्याप्न, तथा छाला र आँखामा असर पार्ने रंगको प्रयोग नगर्न आग्रह गरेको छ।
साथै, होली खेल्ने स्थानमा महँगा गरगहना नलगाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, र भीडभाड हुने ठाउँमा पकेटमारी तथा लुटपाटजस्ता घटनाबाट सतर्क रहन अपिल गरिएको छ।
प्रहरीले अशक्त, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रति कुनै दुर्व्यवहार नगर्न अनुरोध गर्दै, रेलिङ नभएका छत तथा सडकमा होली नखेल्न चेतावनी दिएको छ। साथै, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पार्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ।
यदि कुनै अपराधिक गतिविधि हुन लागेको वा भइसकेको जानकारी प्राप्त भएमा, नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रण कक्षमा १००/९८५५०९०१३६/९८५५०२८२८५/९८५५०२८२८७ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
नियम उल्लंघन गर्ने जो–कोहीलाई कानूनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका छन्।
