ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन जारी, पत्रकारहरूलाई प्रहरीले बलपूर्वक हटायो

समाचार

वीरगञ्ज, चैत ५ ।

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। बिहान १० बजेबाट सुरु भएको मतदान निर्वाचन प्रमुख दिलीप सिंहका अनुसार शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजे सुरु हुने भनिए पनि आवश्यक तयारी पूरा भएपछि मात्र मतदान प्रक्रिया अघि बढाइएको थियो, जसका कारण मतदान २ घण्टा ढिलो गरी १० बजे सुरु भएको हो।

निर्वाचनका लागि ९ वटा मतदान स्थल तोकिएका छन् भने कूल मतदाता संख्या १०,७२९ रहेको छ। सभापति पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। १६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेकाले विद्यार्थीहरूमा विशेष उत्साह देखिएको छ। केही समयका लागि क्याम्पस बाहिर तनाब देखिए पनि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको मध्यस्थतापछि स्थिति सामान्य बनेको र मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।


तर, निर्वाचनको समाचार संकलन गर्न गएका पत्रकारहरूलाई प्रहरीले बलपूर्वक क्याम्पस परिसरबाट बाहिर निकालेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले वीरगञ्जका पत्रकारहरूलाई क्याम्पस क्षेत्रबाट हटाएको हो।तर स्थितिलाई सामान्य गरि प्रमुख जिल्ला अधिकारी अर्यालले संचारकर्मीहरुलाई सहजतापुर्वक समाचार संकलन गर्न वातावरण बनाए।

स्थानीय पत्रकारहरू निष्पक्ष समाचार संकलन गर्न गएका बेला प्रहरीले हस्तक्षेप गरेको भन्दै मिडिया स्वतन्त्रतामाथि आघात पुगेको गुनासो गरेका छन्। पत्रकार महासंघलगायतका सञ्चारसम्बद्ध संघसंस्थाहरूले प्रहरी प्रशासनको यो कदमप्रति आपत्ति जनाउने तयारी गरिरहेका छन्।

यता, प्रहरीले भने निर्वाचनको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन पत्रकारहरूको प्रवेश निषेध गरिएको दाबी गरेको छ। तर, यस घटनाले लोकतान्त्रिक प्रक्रियामा सञ्चारकर्मीहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *