बारा, चैत ६।
बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ५, घुसुकपुरस्थित अविनाश यादवको डेराबाट LED टिभी र नगद चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
फाल्गुन २९ गते बेलुका उक्त डेराबाट अभियान कम्पनीको १ थान LED टिभी र नगद रु. २,३०,००० चोरी भएको जानकारी प्राप्त भएपछि बारा प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा सिम्रौनगढ नगरपालिका वडा नं. ९, बाँसबरीया टोलका २१ वर्षीय अनुरुध साहलाई चैत ३ गते दिउँसो २ बजे सिम्रौनगढ नगरपालिका वडा नं. ९ स्थितबाट पक्राउ गरिएको हो।
पक्राउ परेका साहलाई चोरी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ७ दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
