पर्सा ,१२ चैत ।
पर्सामा केहि SEE परीक्षा केन्द्रमा अनियमितता, लापरवाही देखिएपछि कारबाही गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको प्रेस बिज्ञयप्ती अनुसार मिति २०८१-१२-१० गते आइतबार जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले SEE परीक्षा, २०८१अन्तर्गत वीरगंज महानगरपालिका वडा नं १२ स्थित सुरजी देवी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अनियमितता, लापरवाही तथा अनुशासनहीन क्रियाकलाप भएको निष्कर्ष निकाल्दै सम्बन्धित पदाधिकारीहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।
बैठकले सो परीक्षा केन्द्रका केन्द्राध्यक्ष नन्दकिशोर राम, सहायक केन्द्राध्यक्षहरू सविता चौधरी र चन्द्रशेखर झा तथा सम्पूर्ण निरीक्षकहरूलाई जिम्मेवारीबाट मुक्त गरी बैकल्पिक सूचीबाट ब्रजमोहन प्रसाद कानुलाई केन्द्राध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ। साथै, सोही केन्द्रका परीक्षार्थी सिम्बल नं 03702456D लाई यस वर्षको परीक्षाबाट निष्काशन गर्ने निर्णय समेत गरिएको छ।
त्यसैगरी, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुर परीक्षा केन्द्रमा केन्द्राध्यक्षको संदेहास्पद गतिविधि तथा अनुशासनहीनता देखिएको भन्दै उनलाई सचेत गराउने निर्णय भएको छ। साथै, उक्त केन्द्रमा आगामी परीक्षामा कडा निगरानी गर्ने समेत बैठकले निष्कर्ष निकालेको छ।
