सशस्त्र प्रहरी बलद्वारा १६.९२ लाख बराबरको सामान भन्सारमा बुझाइयो

समाचार

पर्सा, १९ चैत ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल ल्याउँदै गरेका विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

चैत १९ गते वीरगंज महानगरपालिका-१४ गण्डक क्षेत्रमा गरिएको जाँचका क्रममा सार्वजनिक सवारीसाधनमार्फत ल्याइएका रु. ८४,१५० बराबरका सूती साडी, कुर्था सुरुवाल, चकलेट र खेलकुद जुत्ता बरामद गरिएको छ।

यसैगरी, चैत १७ गते सशस्त्र प्रहरी बलको टोली तथा प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट खटिएको संयुक्त टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रमा अवैध रूपमा भित्र्याइ लुकाइ राखिएको रु. ६,६३,९०० मूल्य बराबरको ६,६३९ केजी मुरली मकै बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

त्यसै दिन, सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले रु. ५,६९,७८५ बराबरको किराना सामान, मोटर पार्ट्स, इलेक्ट्रोनिक पार्ट्स र कपडा बरामद गरेको छ।

चैत १९ गते विशेष सूचनाका आधारमा पर्साको वीरगंज महानगरपालिका-१७ अलौस्थित अमरपट्टीबाट वीरगंजतर्फ आइरहेको मधेश प्रदेश-०३-००१ ह ३०९४ नम्बरको ई-रिक्सा चेकजाँच गर्दा, भारतबाट भन्सार छलि ल्याइएका रु. ७५,००० बराबरको भारतीय कपडा बरामद गरिएको छ। साथै, रु. ३,००,००० मूल्य बराबरको ई-रिक्सा समेत नियन्त्रणमा लिई जम्मा रु. ३,७५,००० बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंह का अनुसार, सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध निकासी–पैठारी रोकथामलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *