६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

समाचार

काठमाडौं, २ चैत । बैंकिङ कसुरसम्बन्धी मुद्दामा ६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई काठमाडौं महानगरपालिका–२४ वटु घर भई हाल नागर्जुन नगरपालिका–५ सितापाइला बस्दै आएका अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटारबाट प्राप्त पत्र जाहेरीका आधारमा अनुसन्धान गर्दा श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित तथा गैरकानुनी रूपमा निक्षेपकर्ता तथा संस्थाको हितविपरीत हुने कार्य गरी बैंकिङ कसुर गरेको पुष्टि भएको थियो।

यस सम्बन्धमा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते गरेको फैसलाअनुसार श्रेष्ठलाई दुई वटा मुद्दामा क्रमशः १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिवाना तथा ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिवाना तथा ३ वर्ष कैद सजाय तोकेको थियो।

अदालतको फैसलाअनुसार कुल २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९ पैसा जरिवाना र ६ वर्ष कैद सजाय तोकिए पनि श्रेष्ठ फरार रहँदै आएका थिए।

फरार रहेका श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले २०८२ चैत १ गते नागर्जुन नगरपालिका–५ सितापाइलाबाट पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *