वीरगञ्ज, २ चैत ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित कञ्चनजङ्घा इंग्लिस स्कुलमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लागूऔषध दुरुपयोगविरुद्ध सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ।
आइतबार आयोजित कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीले प्रशिक्षण दिएका हुन्। कार्यक्रममा उनले लागूऔषधको दुरुपयोगले व्यक्तिको स्वास्थ्य, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै यसबाट टाढा रहन विद्यार्थीहरूलाई सचेत गराएका थिए।
प्रशिक्षणका क्रममा लागूऔषधको परिचय, यसको लत लाग्ने कारण, कानुनी परिणाम तथा युवा पुस्ताले अपनाउनुपर्ने सावधानीका उपायहरूबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रहरीका अनुसार विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि गरी लागूऔषध दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएका छन् ।
