पर्सामा ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ

समाचार

वीरगञ्ज, २ चैत। पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको निर्देशनमा सञ्चालन गरिएको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले उक्त परिमाणको ट्रामाडोल बरामद गरेको हो।

प्रहरीका अनुसार मिति २०८२ फागुन ३० गते दिउँसो करिब १२:१५ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले प्रतिबन्धित औषध बरामद गरेको हो। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्ज बसपार्कबाट काठमाडौतर्फ जाँदै गरेको ना.१ ज २७६५ नम्बरको रातो रंगको टाटा सुमो गाडीलाई रोकी जाँच गर्दा उक्त लागुऔषध फेला परेको हो।

सवारी साधनको छतमा राखिएको सामानमा पहेँलो त्रिपालले ढाकी हरियो रंगको जेब्रा झोला तथा पहेँलो रंगको बोरा भित्र लुकाइछिपाइ राखिएको अवस्थामा TRAMADOL HYDROCLORIDE CAPSULES IP 50MG लेखिएको ५२ हजार ३०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरिया डिह निवासी ४२ वर्षीय राम अशिष राउत अहिर तथा पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी निवासी ३० वर्षीय सुवास सर्राफ रहेका छन्।

प्रहरीले उनीहरूलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस सम्बन्धमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध ओसारपसार नियन्त्रणका लागि जिल्लामा निगरानी तथा चेकजाँचलाई थप कडाइ गरिएको छ। सीमा क्षेत्र हुँदै अवैध लागुऔषध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नियमित रूपमा सवारी साधन जाँच तथा निगरानी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै अवैध कारोबारमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाएको छ। साथै, लागुऔषध ओसारपसार वा बिक्री–वितरण सम्बन्धी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सूचना दिन समेत सर्वसाधारणसँग अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *