काठमाडौँ, चैत २९।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्र बनाउँदै आइरहेको छ।
आज विभागले थप चारवटा तार उद्योगहरूको कारोबार रोक्का गरेको छ। चालु महिनाभरि १५० भन्दा बढी उद्योगहरू अनुगमन गर्दै २० भन्दा बढी उद्योगको कारोबार रोक्का गरिएको विभागले जनाएको छ।
आज कारोबार रोक्का गरिएका उद्योगहरूमा जनता केवल इन्डस्ट्री प्रा.लि., युनाइटेड वायर एन्ड केवल इन्डस्ट्री प्रा.लि., प्राइम केवल इन्डस्ट्री प्रा.लि. तथा राठी ब्रान्डको अन्नपूर्ण केवल्स प्रा.लि. रहेका छन्।
काठमाडौँको भोटाहिटी क्षेत्रमा अनुगमनका क्रममा ती उद्योगहरूले उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको पाइएपछि विभागले कारोबार रोक्का गरेको हो।
विभागले ती उद्योगलाई बिलविजकसहित आवश्यक कागजात लिएर विभागमा उपस्थित हुन सूचना दिएको छ। विभागका महानिर्देशक कुमार दहालले मागिएको सम्पूर्ण कागजात र नमुना उत्पादनसहित विभागमा उपस्थित भएमा कारबाही फुकुवा गरिने बताए।
उनले भने, “हामीले मागेका सबै कागजातसहित उपस्थित भएमा कारबाही फुकुवा गर्छौं। यसअघि पनि केही उद्योगहरूको कारबाही फुकुवा गरिएको छ। हामी नयाँ ठाउँमा अनुगमन गर्दैछौं र यो प्रक्रिया हरेक दिन जारी रहनेछ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले एमआरपी अनिवार्य गराउँदै अनुगमन कार्य तीव्र बनाएको हो।
सिमेन्टका बोराहरूमा(एमआरपी) राख्नका लागि भने उद्योगीहरूले केही दिनको समय माग गरेकोमा उक्त समय सकिन लागेको छ । सिमेन्टमा आगामी वैशाख १ देखी (एमआरपी) राखिने बताइएको छ ।
तौलेर वा गजले नापेर बेच्ने बाहेकका हरेक सामग्रीमा (एमआरपी) अनिवार्य गरिएको हो । अनुगमन कार्यलाई तीव्रता दिएसँगै अधिकांश उद्योगीहरूले भने (एमआरपी) राखेको पाइएको छ ।
