पर्सा, ४ बैशाख ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा अबैध लागुऔषध चरेश बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा गएको टोलीले वैशाख ३ गते बुधबार राति करिब ११ बजे पर्सा जिल्लाको पोखरिया नगरपालिका–०८ मननपुरस्थित बाँसको झ्याङमा लुकाइछिपाई राखिएको अवस्थामा २४ केजी ५०० ग्राम चरेश बरामद गरेको हो।
बरामद गरिएको चरेश दुईवटा झोलामा राखिएको अवस्थामा फेला परेको थियो। बरामद सामग्री आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी, नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।
