डिएसपी सुब्बाको नेतृत्वमा १५ लाख बराबरको मल्टिभिटामिन औषधि र सवारीसाधनसहित व्यक्ति पक्राउ

समाचार

रसीद आलम ,

बीरगंज, १२ बैशाख
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २४ स्थित रामगढवा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका मल्टिभिटामिन औषधिसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

गस्ती टोलीले ना.२ स.१०१७ नम्बरको अटोमा लोड गरिएका १० वटा कार्टुनमा प्याक गरिएको Lycopene with Multivitamin & Multiminerals Capsule – NUTRI-CURE Capsule कुल ४८० डब्बा (४,८०० पत्ता) फेला पारेको हो।

साथै, उक्त औषधि चोरीपैठारीमा संलग्न रहेका पर्सा, वीरगंज-२५ भन्सार सिर्सिया गाउँका ३६ वर्षीय अटो चालक अमृत साह कानु तथा स्कर्टिङ्गका लागि प्रयोग गरिएका दुई मोटरसाइकल—BR05AR2690 नम्बरको सिलभर HERO GLAMOUR र BR05AM6462 नम्बरको कालो HERO SPLENDOR समेत बरामद गरिएको छ।

बरामद गरिएको अटो र मोटरसाइकलको मूल्य करीब ६ लाख रुपैयाँ र औषधिको मूल्य ९ लाख ६० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।

जम्मा १५ लाख ६० हजार रुपैयाँ बराबरको सामानसहित पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *