पर्सामा ३ बिघामा लगाइएको ४८ हजार गाँजा बोट फडानी तथा नष्ट

समाचार

पर्सा, फागुन १ । पर्साको पटेर्वासुगौली गाउँपालिकामा अवैध रूपमा लगाइएको ठूलो परिमाणको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बाट प्रहरी निरीक्षक समुन्न अधिकारीको कमाण्डमा खटिएको टोलीले मिति २०८२ साल फागुन १ गते अपराह्न ४:३० बजे पटेर्वासुगौली गाउँपालिका–४ सानो सुगौलीस्थित एलानी जग्गामा लगाइएको करिब ३ बिघा क्षेत्रफलमा फैलिएको अन्दाजी ४८ हजार गाँजा बोट फडानी गरी नष्ट गरेको हो।

प्रहरीका अनुसार सो क्षेत्रको एलानी (सार्वजनिक) जग्गामा संगठित रूपमा गाँजा खेती गरिएको सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो। नियन्त्रणमा लिइएको सम्पूर्ण गाँजा बोट कानूनी प्रक्रिया पूरा गरी स्थलमै नष्ट गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै अवैध खेती, ओसारपसार तथा कारोबार विरुद्ध निरन्तर कारबाही गरिरहेको जनाएको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको छ।

प्रहरीले अवैध लागुऔषध खेती तथा कारोबारबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गर्दै सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *