पर्सा, वैशाख १९ ।
जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। मिति २०८२ वैशाख १७ गते साँझ करिब ७:०० बजे वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका एक पुरुष र एक युवतीलाई चेकजाँचको क्रममा रोकेको थियो।
प्रहरीको प्रारम्भिक सोधपुछमा ती व्यक्तिहरू शंकास्पद देखिएपछि कार्यालयमा ल्याई थप अनुसन्धान गर्दा, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ निवासी २९ वर्षीय सुजन लामा (उर्फ पासाङ तामाङ) ले युवतीलाई वीरगञ्ज नजिकको कपडा कारखानामा राम्रो तलब हुने भन्दै प्रलोभनमा पारेर भारत लैजान खोजेको खुलासा भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसूरमा नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टका अनुसार यस घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
