पर्सा, वैशाख १९ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको चेकजाँच विन्दु नजिकै सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएको स्रोत नखुलेको नेपाली रुपैयाँ ९ लाख ५९ हजारसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार मान बहादुर दमाईको कमाण्डमा खटिएको ९ जनाको चेक प्वाइन्ट टोलीले त्रिभुवन राजपथ सडक खण्डमा भारतबाट नेपालतर्फ आइरहेको BR 22 P 8300 नम्बरको सेतो स्कार्पियो गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।
सशस्त्रका अनुसार गाडीको सिट पछाडिको पकेट र सिटमाथिको झोलाभित्र लुकाई छिपाई ल्याइएको उक्त रकमसहित गाडीमा सवार तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।
उक्त स्कार्पियो गाडीको भन्सार दाखिला मूल्य रु. ३० लाख रहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
पक्राउ पर्नेहरुमा भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नं. ७ का अन्दाजी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं. १२ का ४६ वर्षीय मनोज कुमार सहनी र छाउनी चोक ग्राम पंचायत वडा नं. २७ का ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव रहेका छन्।
भन्सार छली तथा चोरी पैठारीको घटनामा संलग्न रहेको आशंकामा उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
