रसीद आलम ,बारा, बैशाख २० ।
बारा जिल्लाको आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रको खेतमा पार्किङ गरिएको ट्याक्टरबाट २२५ केजी लागुऔषध गाँजा बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय बारागढी, बाराबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
गोप्य सूचनाको आधारमा अनुगमन गर्न गएको प्रहरी टोलीले प्रदेश २–०३–००१त ४८७६ नम्बरको ट्याक्टरको ढालामुनि फल्स बटन बनाई प्लास्टिकले बेरी राखिएको १५ वटा कार्टुनमा गाँजा फेला पारेको जनाएको छ। बरामद गाँजा तथा ट्याक्टर नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको छ।
ट्याक्टर चालक बारा आदर्शकोटवाल गा.पा.–३ का ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान गर्दा गाँजासँग सम्बन्धित थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला बारा, कोल्हवी नगरपालिका स्थित रोज उड होटलको कोठा नम्बर ३०३ बाट पक्राउ परेका व्यक्तिहरुमा मकवानपुर हेटौडा न.पा.–४ का २१ वर्षीय कमाण प्रजा, कैलाश गा.पा.–४ देवतिसका २४ वर्षीय सिताराम प्रजा, र बकैया गा.पा.–५ छतिवनका २२ वर्षीय नवराज मगर रहेका छन्।
चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको प्रहरीले जनाएको छ।
