रसीद आलम
पर्सा, २७ वैशाख — भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत देखिन थालेको छ। नेपाल–भारतको प्रमुख व्यापारिक प्रवेशद्वार मानिने पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा भन्सार क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
दुवै देशका सुरक्षाकर्मीहरू नाकामा तैनाथ छन् र तालमेल गर्दै संयुक्त गस्ती सुरु गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल, पर्सा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षाका लागि यस्तो सहकार्य थालिएको हो।
यस कदमले सीमावर्ती क्षेत्रमा अनावश्यक आवतजावत, तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारत–पाकिस्तानबीचको तनावका कारण प्रभावित नागरिकहरूले नेपाल प्रवेश गर्ने सम्भावना रहेको सुरक्षानिकायको निष्कर्ष छ।
गृह मन्त्रालय स्रोतका अनुसार युद्धको परिस्थितिमा प्रभावित नागरिकहरू अन्य मुलुकमा शरण लिन सक्ने सम्भावना हुन्छ, जसले नेपाल प्रवेश गर्ने खतरा बढाएको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने, विशेष निगरानी गर्ने तथा सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्ने तयारी गरेको छ।
सशस्त्र प्रहरी बल, पर्साका एसपी राधेश्याम धिमालका अनुसार परिचयपत्र नभएका व्यक्तिहरूलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय समेत गरिएको छ।
