रसीद आलम।
बिरगंज, २ जेठ – जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जिम्मेवारी सम्हालेसँगै अपराध नियन्त्रणमा तीव्र सक्रियता देखाएका छन्। उनले सञ्चालन गरेको कडा कारबाही अभियानले अपराधी र तस्करहरूबीच त्रास फैलिएको छ।
एसपी मिश्रको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत प्रहरीले एकै दिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो। ती प्रतिवादीहरू विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर लामो समयदेखि फरार रहेका थिए।
जिल्लाका विभिन्न स्थानबाट पक्राउ परेका व्यक्तिहरूलाई फैसला कार्यान्वयन अभियान अन्तर्गत गत ३० गते नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना र ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजाय असुलका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको हो।
एकै दिनमा यति ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु पर्सा प्रहरीका लागि गर्वको विषय भएको एसपी मिश्रले बताएका छन्।
उनको नेतृत्वमा प्रहरीले तस्करी, लागुऔषध कारोबार नियन्त्रण तथा फरार अभियुक्त पक्राउ अभियान सघन रूपमा सञ्चालन गरिरहेको जनाएको छ।
एसपी मिश्रको यो अभियानले पर्सा जिल्लामा कानुनी शासनप्रति विश्वास बढाएको र अपराध नियन्त्रणमा उल्लेखनीय प्रभाव परेको स्थानीयवासीहरूको भनाइ छ।
