पर्सा,७ जेठ ।
बुधबार जेठ ७ गते बिहान ४:०० बजे पर्सा जिल्ला, बीरगञ्ज महानगरपालिका–३२, टेढामा चट्याङ पर्दा एक किशोरको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भगन माझीका अन्दाजी १५/१६ वर्षीय छोरा शिव शंकर माझी घरमै सुतिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सास फेर्न गाह्रो भई घरबाट १४/१५ कदम टाढा निस्कंदै गर्दा एक्कासी बेहोस भएका थिए। तुरुन्तै स्थानीय मेडिकल सोलकपुरबाट चिकित्सक बोलाई स्वास्थ्य परीक्षण गराउँदा उनलाई मृत घोषणा गरिएको थियो।
घटनाबारे बिहान ७:०० बजे सूचना प्राप्त भएपछि प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ऋषि भट्टराईको कमाण्डमा टोली खटिइ घटनास्थल सुरक्षित राखिएको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गर्न इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा टोली समेत घटनास्थलमा खटिएको थियो।
शवको पोष्टमार्टम सम्पन्न गरी आफन्तलाई बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
