रसीद आलम
काठमाण्डौ, ८ जेठ ।
पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद तथा वर्तमान खानेपानी मन्त्री प्रदीप यादवले पवित्र हज यात्राको लागि साउदी अरेबियातर्फ प्रस्थान गर्न लाग्नुभएका नेपाली मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर ससम्मान बिदाइ गरेका छन्।
मन्त्री यादवले हज यात्रीहरूलाई फूलमाला र खादा अर्पण गर्दै बिदाइ गरेका हुन्। उनले हज इस्लाम धर्मको एक महत्वपूर्ण धार्मिक कर्तव्य तथा आत्मिक शुद्धिकरणको पवित्र यात्रा भएको उल्लेख गर्दै यात्रामा सहभागी सबै श्रद्धालुहरूलाई सफल, सुरक्षित र शान्तिपूर्ण यात्राको शुभकामना व्यक्त गरे।
हज यात्राका लागि नेपालभरका मुस्लिम धर्मावलम्बीहरू जिल्ला हज समितिहरूमार्फत सिफारिस भई केन्द्रिय हज समितिद्वारा निर्धारण गरिएको कोटाअनुसार सहभागी हुँदै आएका छन्।
मन्त्री यादवले हज यात्रामा निस्किनुभएका सम्पूर्ण श्रद्धालुहरूलाई धर्म, आस्था र मानवता प्रती प्रेरणादायी यात्राको शुभकामना व्यक्त गर्दै यो यात्रा व्यक्तिगत मात्र नभई राष्ट्रिय एकता र सहिष्णुता प्रवर्द्धन गर्ने अवसर पनि बन्ने विश्वास व्यक्त गरे।
