शहीद कृष्ण सेन ‘इच्छुक’को २३औं स्मृति दिवसमा दुई पत्रकार सम्मानित, पत्रकारितामा चुनौती र अवसर विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचार

पर्सा, १५ जेठ ।
क्रान्तिकारी पत्रकारिता आन्दोलनका प्रतीक शहीद कृष्ण सेन ‘इच्छुक’को २३औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, पर्सा शाखाले एक विशेष कार्यक्रम आयोजना गर्दै दुई जना पत्रकारलाई ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ।

यस वर्षको स्मृति सम्मानबाट पत्रकार गोविन्द देवकोटा र रितेन्द्र झा विशेष रूपमा सम्मानित भएका छन्। उनीहरूलाई जनही रु २१ हजार नगद, दोसल्ला, टीका, माला र सम्मानपत्र प्रदान गरिएको हो। सम्मान कार्यक्रमले पत्रकारिता क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको उच्च कदर गरेको बताइएको छ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा एक दिवसीय अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिएको थियो। ‘पत्रकारिता : चुनौती र अवसर’ भन्ने मूल विषयमा केन्द्रित उक्त कार्यक्रममा पत्रकारिताको सैद्धान्तिक तथा व्यवहारिक पक्षमा व्यापक छलफल गरिएको थियो।

समापन सत्रमा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले शहीद इच्छुकले सत्य, तथ्य र जनपक्षीय पत्रकारिता स्थापना गर्न खेलेको भूमिका स्मरण गर्दै अहिलेको पत्रकारिता पनि त्यही मार्गमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले वर्तमान अवस्थामा प्रेस स्वतन्त्रता अझै पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्ता परिस्थितिमा सत्य, तथ्यमा आधारित, जिम्मेवार र अनुसन्धानमूलक पत्रकारिता अझ आवश्यक भएको धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष गिरीले प्रेस सेन्टरका सदस्य पत्रकारहरूलाई वस्तुनिष्ठ, तथ्यपरक र अनुसन्धानमुखी पत्रकारितामा केन्द्रित हुन आह्वान गर्दै सञ्चार माध्यमहरूले जनताको आवाज र समस्यालाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा पर्सा जिल्लाका पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो प्रकारको अभिमुखीकरण कार्यक्रमले आफ्नो पेशागत ज्ञानमा थप योगदान पुर्‍याएको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा पत्रकार, सम्पादक, प्रशिक्षक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शहीद कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा आयोजना गरिएको यस कार्यक्रमले पत्रकारिता क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *