रसीद आलम।
पर्सा, असार १ ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका प्रतिबन्धित ब्रोईलर कुखुराका २४०० गोटा चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।
धोबिनी गाउँपालिका–१, घोडदौडस्थित सीमाक्षेत्र हुँदै ल्याइँदै गरेको ती चल्लाहरू एक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गर्दा पक्राउ गरिएको हो। सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको २४ कार्टुन चल्लाहरूलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, संचारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको हो।
उक्त अवैध पैठारीमा संलग्न पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका–२, जानकी टोल बस्ने ४५ वर्षीय नबी देवानलाई नियन्त्रणमा लिई सवारीसाधनसहित आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाउँदै गैरकानुनी क्रियाकलाप विरुद्ध निरन्तर कारबाही जारी राखेको जनाएको छ।