४३ लाख बराबरको राजश्व छलीको सामानसहित ट्रक नियन्त्रणमा, पथलैयामा बुझाइयो

समाचार

बारा, असार १३।
जिल्ला प्रहरी कार्यालय बाराको पहलमा राजश्व छलीको आशंकामा ४३ लाखभन्दा बढी मूल्य बराबरको सामानसहित एक कन्टेनर ट्रक नियन्त्रणमा लिइएको छ।

प्राप्त विवरणअनुसार, मिति २०८२ असार १२ गते बिहान करिब ७:१५ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जे जङ कार्कीको कमाण्डमा खटिएको टोलीले बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित कार्यालय अगाडिको चेक प्वाइन्टमा मधेश प्रदेश ०३-००२ ख १४४० नम्बरको मालबाहक ट्रकलाई जाँच गरेको थियो।

बीरगञ्जबाट सिमरा तर्फ गइरहेको उक्त ट्रकमा रहेको सामानको बिल–बिजकभन्दा बढी परिमाण फेला परेपछि राजश्व छलीको आशंका गरिएको हो। ट्रकबाट फाइल, साबेल, पितलका भाडा, बदाम दाना लगायतका विभिन्न खुद्रा सामान बरामद गरिएको छ, जसको अनुमानित मूल्य रु. ४३,३४,८१० रहेको प्रहरीले जनाएको छ।

बरामद सामानसहित ट्रकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजय राज पण्डितले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *