पर्सा, साउन २१। मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व मोहर्रम (दाहा)लाई शान्तिपूर्ण, सभ्य र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा एक सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नं. १३ गणका प्रहरी उपरीक्षक राधेश्याम धिमाल, विभिन्न मुस्लिम अगुवा, युवा समूहका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मोहर्रम इस्लामी क्यालेन्डरको पहिलो महिनाको विशेष पर्व हो, जसको १०औँ दिन ‘यौम-ए-आशूरा’ का रूपमा मनाइन्छ। करिब १४०० वर्ष पहिले करबलाको युद्धमा इमाम हुसैन र उनका ७२ जना सहिदहरूको सम्झनामा यो पर्व श्रद्धापूर्वक मनाइने गरिन्छ।
पर्सा जिल्लामा पनि मुस्लिम युवाहरू समूह–समूहमा भेला भई झर्नी, लाठी, लगायतका परम्परागत खेलहरू प्रदर्शन गर्ने, दाहा मेलामा सांस्कृतिक तथा ऐतिहासिक कला प्रस्तुत गर्ने परम्परा रहिआएको छ।
बैठकमा मोहर्रम पर्वलाई व्यवस्थित, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गर्न निम्न निर्णयहरू गरिएका छन्:
- पर्वका अवसरमा कुनै पनि किसिमको हातहतियार नलैजाने,
- चर्को आवाजमा डीजे वा साउण्ड सिस्टम प्रयोग नगर्ने,
- सबै समूहहरूले आ–आफ्नो व्यवस्थापन स्वयम् गर्ने तथा स्वयंसेवक परिचालन गर्ने,
- सुरक्षाको लागि प्रहरी बलको पर्याप्त परिचालन गर्ने,
- ड्रोनमार्फत निगरानी गरी सुरक्षा सुनिश्चित गर्ने।
जिल्ला प्रशासन कार्यालयले सबै पक्षहरूलाई संयम, अनुशासन र धार्मिक सहिष्णुता कायम राख्दै पर्व मनाउन आग्रह गरेको छ। मुस्लिम समुदायका अगुवाहरूले पनि प्रशासनका निर्णयप्रति सहमति जनाउँदै मोहर्रम पर्वलाई शान्तिपूर्ण र गरिमामय ढंगले सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
