खानेपानी संकट समाधानका लागि मन्त्री प्रदीप यादवद्वारा विज्ञहरूसँग बृहत् छलफल

समाचार

 काठमाडौं,३२ असार ।

मधेश प्रदेशका वीरगंज शहरसहित आसपासका जिल्लाहरूमा दिनप्रतिदिन गहिरिँदै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधान खोज्न खानेपानी मन्त्री प्रदीप यादवको अध्यक्षतामा बुधबार सिंहदरबारस्थित मन्त्रालयमा बृहत् विज्ञ छलफल सम्पन्न भयो।

उक्त छलफलमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा जलवायु परिवर्तन, तराई–मधेश क्षेत्रमा देखिएको भू-जल अभाव, जलस्रोतको घट्दो स्तर, चुरे दोहन र अव्यवस्थित शहरीकरणजस्ता कारणहरूले उत्पन्न भएको खानेपानी संकटको वैज्ञानिक विश्लेषण प्रस्तुत गरिएको थियो। विज्ञहरूले समस्या समाधानका लागि महत्वपूर्ण सुझावहरू समेत प्रस्तुत गरेका थिए।

छलफलमा भू-जल पुनर्भरणका उपायहरू—जस्तै पुनर्भरण पोखरी निर्माण, वर्षा पानी संकलन, हरित क्षेत्रको विस्तार—र वैकल्पिक जलस्रोतको पहिचान, प्रविधिमार्फत पानीको मितव्ययी प्रयोग तथा जनचेतना अभिवृद्धिका उपायहरूमाथि विशेष जोड दिइएको थियो।

यसबाहेक, छलफलमा सहभागी विज्ञहरूसँग संयुक्त अध्ययन टोली गठन गर्ने सहमति समेत जुटेको छ। उक्त टोलीले तराई–मधेशका विभिन्न जिल्लाहरूको वर्तमान जल अवस्था, भू-जल संरचना, प्रदूषणको अवस्था तथा दीर्घकालीन समाधानका उपायहरूबारे विस्तृत अध्ययन तथा सिफारिस प्रस्तुत गर्नेछ।

खानेपानी मन्त्री यादवले सरकार नागरिकका लागि अत्यावश्यक सेवा–सुविधा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्दै खानेपानी समस्याको समाधानका लागि यथाशीघ्र ठोस कदम चालिने प्रतिवद्धता व्यक्त गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *