वीरगन्जमा खानेपानीको संकट समाधानतर्फ ठूलो कदम: निःशुल्क धारा जडानका लागि महानगर र संस्थानबीच सम्झौता

समाचार

वीरगन्ज,साउन १।
खानेपानी संकटको सामना गरिरहेको वीरगन्जमा अब प्रत्येक घरमा निःशुल्क धारा जडान हुने भएको छ। वीरगन्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच बिहीबार भएको ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षरपछि यस्तो व्यवस्था गरिएको हो।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण र खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। खानेपानी मन्त्री प्रदीप यादव र मेयर राजेशमान सिंहको विशेष पहलमा गरिएको यो सम्झौताले वीरगन्जको दीर्घकालीन खानेपानी समस्या समाधानतर्फ महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

अब खानेपानी संस्थानको नयाँ धारा जडान गर्दा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्नेछ। पाइपलाइन विस्तार भएका वडा तथा क्षेत्रमा धारा जडान निःशुल्क गरिनेछ।

सम्झौताको प्रमुख उद्देश्यहरू:

  • जलवायु परिवर्तनका कारण उत्पन्न भएको दीर्घकालीन खानेपानी संकटको समाधान
  • घर–घरमा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच
  • सेवा प्रणालीलाई छिटो, सरल र पारदर्शी बनाउने
  • आर्थिक रूपमा कमजोर वर्गका लागि पहुँचयुक्त सेवा सुनिश्चित गर्ने

खानेपानी मन्त्री यादवले उक्त पहलले जनस्वास्थ्यमा सकारात्मक असर पार्ने र पानीजन्य रोगहरू न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै, संस्थानले वीरगन्ज शाखामा आवश्यक जनशक्ति थप गर्ने र सेवा प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ।

संझौताअनुसार, संस्थानले पाइपलाइनको विस्तार, मर्मतसम्भार, जनचेतनामूलक कार्यक्रम, र गुनासो समाधान कार्यहरू समेत अघि बढाउनेछ। सम्झौताले साउन १ गतेदेखि पुस मसान्तसम्म कार्यान्वयन अवधि तय गरेको छ, र आवश्यक परेमा अवधि थप गर्न सकिने प्रावधान समेत रहेको छ।

सम्झौता कार्यक्रममा उपमेयर इम्तियाज आलम, विभागीय महानिर्देशक रामकुमार श्रेष्ठ, संस्थान अध्यक्ष ढुण्डीराज भट्टराई, शाखा प्रमुख प्रविण साह लगायतको उपस्थिति थियो।

वीरगन्ज उपमेयर आलमले लामो समयदेखिको खडेरी, जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण उत्पन्न संकट समाधानमा यो सम्झौताले सकारात्मक मोड ल्याउने विश्वास व्यक्त गरे। उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले उक्त जानकारी दिएका हुन्।

यो सम्झौता वीरगन्जबासीका लागि खानेपानीको हक सुनिश्चित गर्ने दिशामा एउटा महत्वपूर्ण मोडको रूपमा लिइएको मन्त्री यादवले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *