काठमाडौं, साउन १ ।
खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा गरेको अवसरमा मन्त्री प्रदीप यादवले मन्त्रालयको उल्लेखनीय प्रगति सार्वजनिक गरेका छन्।
आर्थिक वर्ष ०८१/८२ मा मन्त्रालयले ९०.१० प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिंदै मन्त्री यादवले यो उपलब्धिलाई गर्वको विषय बताएका छन्। अघिल्लो वर्ष विभागको वित्तीय प्रगति ६३ प्रतिशतमा सीमित रहेको अवस्थामा यो वर्षको सुधारलाई महत्वपूर्ण फड्कोको रूपमा लिइएको छ।
उक्त उपलब्धि मन्त्रालय र विभागबीचको प्रभावकारी समन्वय, योजनाहरूको सफल कार्यान्वयन, सेवा प्रवाहको सुधार तथा स्रोत व्यवस्थापनमा पारदर्शिताको परिणाम भएको मन्त्री यादवले उल्लेख गरे।
“स्वच्छ खानेपानी सबैको मौलिक अधिकार हो र यसलाई सुनिश्चित गर्न हामी सधैं प्रतिबद्ध छौं,” मन्त्री यादवले भने, “अबको आर्थिक वर्षमा खानेपानी तथा ढल व्यवस्थापनका कार्यक्रमहरूलाई अझ बढी पारदर्शिता र परिणाममुखी कार्यशैलीसहित अघि बढाउने मेरो दृढ अठोट छ।”
मन्त्री यादवले मन्त्रालय परिवार, विभागीय कर्मचारी, अर्थ मन्त्रालय, आयोजनाका प्राविधिक टोली, स्थानीय तह, विकास साझेदार, उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।
