सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआजी ढकालको तस्करी नियन्त्रण अभियान तीव्र, पर्साबाट ३ लाख बराबरको अबैध सामान बरामद

समाचार

पर्सा, ७ साउन ।
सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेशका प्रमुख डिआजी कृष्ण ढकालको सक्रिय निर्देशन र नेतृत्वमा तस्करी नियन्त्रण अभियानलाई थप तीव्र बनाइएको छ। सोही अभियान अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्टको कमाण्डमा गरिएको तस्करी नियन्त्रण अपरेशनमा करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको भन्सार छलिएका अवैध सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट मिति २०८२ साल साउन ६ गते साँझ करिब ६:३० बजे सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको पाँच सदस्यीय मोबाइल गस्ती टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१७, अलौ नाकामा दुई जना व्यक्तिहरूले टाउकोमा बोकी लैजाँदै गरेको चुरोट (TERRA) देखेपछि नियन्त्रणको प्रयास गरेको थियो।

तर प्रहरीलाई देख्ने बित्तिकै ती व्यक्ति उक्त चुरोट फाली फरार भएका थिए। घटनास्थलबाट प्रहरीले करिब दुई लाख ४९ हजार रुपैयाँ बराबरको TERRA ब्रान्डको चुरोट बरामद गरेको छ। बरामद गरिएको चुरोट आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यसै क्रममा, सोही गुल्मबाट भन्सार छली गरी ल्याइएको करिब ५६ हजार रुपैयाँ बराबरको अवैध कपडा पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

डिआजी ढकालले मधेस प्रदेशभर भन्सार छलि हुने, तस्करी र अवैध कारोबारमा संलग्न क्रियाकलापमाथि शून्य सहनशीलताको नीति अपनाउँदै अभियान तीव्र बनाएका छन्। यसअन्तर्गत सीमा क्षेत्रमा कडाइ गरिएको छ भने सशस्त्र प्रहरीका विभिन्न टोलीहरू नियमित गस्ती र निगरानीमा खटाइएका छन्।

सशस्त्र प्रहरी बल मधेस प्रदेशद्वारा चलाइएको यो अभियानले तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरिरहेको छ भने स्थानीयबासी तथा व्यवसायिक समुदायबाट पनि सहयोग र समर्थन बढ्दो क्रममा रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *