पर्सा जिल्ला प्रहरी कार्यालय कार्य सम्पादन सम्झौतामा सर्वोत्कृष्ट, एसपी गौतम मिश्रको नेतृत्वमा उल्लेखनीय सफलता

समाचार

पर्सा, साउन १२ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य सम्पादन सम्झौता अन्तर्गत मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको छ।

कार्यक्रममा मधेश प्रदेश मातहतका सबै प्रहरी कार्यालयहरूसँग कार्य सम्पादन सम्झौता अनुसारको वार्षिक प्रगति विवरणको समिक्षा गरिएको थियो। मूल्यांकनको क्रममा पर्सा प्रहरीले ४० वटा सूचकहरूमा आधारित रहेर ९०.१९५ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले एसपी गौतम मिश्रको नेतृत्वमा भन्सार चोरी तथा तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण तथा मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियानहरू सञ्चालन गरेको थियो।

उक्त अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको तस्करी तथा भन्सार छलीका सामग्रीहरू बरामद गरी सम्बन्धित राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको छ। साथै विभिन्न अदालतबाट फैसला भइसकेका १ हजार ५११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल गरिएको छ।

लागूऔषध नियन्त्रण अभियान अन्तर्गत ३१९ केजी चरेससहित ट्रक र अभियुक्त नियन्त्रणमा लिइएको थियो भने हालसम्म ६२४ केजी चरेस, १ हजार ५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिम लगायतका लागूऔषधसहित १५३ जना कारोबारीहरू पक्राउ परेका छन्।

मानव बेचबिखन विरुद्ध पनि पर्सा प्रहरीले प्रभावशाली कदम चालेको छ। १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्त पक्राउ गरिएको जानकारी दिइएको छ।

समिक्षा कार्यक्रममा डिआईजी चतुर्वेदीले पर्सा प्रहरीको उत्कृष्ट कार्यप्रति बधाई दिँदै अन्य मातहत कार्यालयहरूलाई पनि लक्ष्यअनुसार कार्य सम्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका थिए। कार्यक्रममा मधेश प्रदेश प्रहरी गण जनकपुरका निमित्त प्रमुख, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *