रसीद आलम
बारा, १६ साउन।
इलाका प्रहरी कार्यालय सिमरा, बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीको सक्रिय नेतृत्वमा लागूऔषध नियन्त्रण अभियान तीव्र पारिएको छ। सोही अभियान अन्तर्गत लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न एक जना व्यक्तिलाई पक्राउ गरिएको छ।
बिशेष सूचनाको आधारमा मिति २०८२ साउन १५ गते साँझ करिब ६:३० बजेको समयमा प्रहरीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २, रेलवे लाइन टोल स्थित सरोज कुमार कुर्मीको घरमा छापा मारेको थियो। पक्राउ परेका कुर्मी सोही टोलका स्थायी बासिन्दा तथा कृष्ण राउत कुर्मीका छोरा हुन्, जसको उमेर करिब ४० वर्ष रहेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी कुर्मीको घर खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २.०४ ग्राम र तौल गर्न प्रयोग हुने सानो डिजिटल तराजु बरामद गरेको हो।
बरामद पदार्थ र प्रमाणसहित सरोज कुमार कुर्मीलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा ल्याइएको छ। प्रारम्भिक अनुसन्धानबाट कुर्मी लागूऔषध कारोबारमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ।
डिएसपी जोशीले आफ्नो कार्यक्षेत्रभित्र गैरकानुनी कार्य, विशेषगरी लागूऔषध कारोबारमाथि ‘जीरो टोलरेन्स’ नीति अपनाउँदै आएका छन्। उनका अनुसार “लागूऔषधको कारोबारले समाजमा गम्भीर असर पार्दै आएको छ, यसविरुद्धको अभियान अझ प्रभावकारी र निरन्तर हुनेछ।”
यस प्रकरणमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ। लागूऔषध कारोबारविरुद्ध प्रहरी प्रशासनको यस्तो सशक्त कदमलाई स्थानिय बासिन्दाले स्वागत गरेका छन्।
