सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय असंवैधानिक र अलोकतान्त्रिक : प्रचण्ड

समाचार

काठमाडौ ,२० भदौ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध आलोचना हुने डरले निरन्तर मुद्दा चलाउने, आफ्नालाई जोगाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई सरकारले निरन्तरता दिएको आरोप लगाएका छन्।

उनका अनुसार संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सरकारले सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गर्नु संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी कदम हो। साथै सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको अपव्याख्या गरिएको उनले बताएका छन्।

प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले विदेशमा रहेका श्रमिक र परिवारबीचको सम्पर्क जटिल बनाउने, अर्थतन्त्रलाई असर पुर्‍याउने र जनजीवनलाई असहज बनाउने बताएका छन्।

उनले आफ्नो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा रहेको स्पष्ट पार्दै संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुपर्नेमा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक भएको बताएका छन्।

अन्त्यमा, उनले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउँदै सो निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *